कहिले गर्छन् रियलका लागि डेब्यू एम्बाप्पेले ?
कहिले गर्छन् रियलका लागि डेब्यू एम्बाप्पेले ?
    • बेल संचार

    • २ श्रावण २०८१, बुधबार

मड्रिड ।

किलायन एम्बाप्पेले आगामी महिना हुने एटलान्टाविरुद्धको यूईएफए सुपर कपमा रियल मड्रिडका लागि डेब्यू गर्ने तयारी गरेका छन् ।

पेरिस सेन्ट जर्मेनबाट रियल भित्रिएपछि २५ वर्षीय फ्रेन्च खेलाडीलाई रियलको डेब्यू र उनको नाकको चोटको अवस्थाबारे प्रश्न गरिएको थियो । जवाफमा उनले आगामी महिना हुने युरोपा लिग विजेता एटलान्टासँगको भिडन्तलाई आफूले लक्ष्य बनाइरहेको बताएका हुन् ।

अमेरिकामा हुने क्लबको प्रि–सिजन टुरबारे गरिएको प्रश्नमा उनले भने, ‘यस विषयमा प्रशिक्षक र क्लबसँग सल्लाह गर्छु । यदि क्लबले हुन्छ भन्यो भने म जान्छु । म अहिले क्लबको अधीनमा छु । सुपर कप खेल खेल्न पाउँछु भन्नेमा म आशावादी छ । तर, यो पनि प्रशिक्षकमा भरपर्छ । पहिलो खेल खेल्नका लागि म मेहनत गर्नेछु ।’

आफ्नो नाकको चोटको बारे उनले थपे, ‘म मेडिकल टोलीसँग सम्पर्कमा छु । मैले उहाँहरूको सल्लाह सुनिरहेको छु  र सकेसम्म चाँडो मैदानमा फर्कनेछु । म टोलीलाई सकेसम्म अधिकतम योगदान दिन चाहन्छु ।’

यो हाईफ्रोफाइल ट्रान्सफरपछि फुटबल समर्थकहरूले एम्बाप्पेले कहिलेदेखि खेल्न थाल्छन् भनेर प्रतीक्षामा छन् । रियलले जुलाई ३१देखि अमेरिकामा प्रिसिजन सुरु गर्नेछ ।

पहिलो खेलमा एसी मिलानको सामना गरेपछि टोलीले बार्सिलोना र चेल्सीसँग खेल्नेछ । सुपर कपको फाइनल खेल भने पोल्यान्डको वारसमा हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित