काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) संसदबाट विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्रीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची पनि छ । एमाले संसदीय दलका नेता ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेश गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । उनले ६३ मत मात्रै पाएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो ।
कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपा र नागरिक उन्मुक्तिका ४–४ र २ स्वतन्त्र मत पनि विपक्षमा परेको थियो । जुन दुई-तिहाइभन्दा बढी मत हो ।
यसैले ओलीले आज दुई–तिहाइ विश्वासको मतका लागि तयारी गरेका छन् ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।
ओलीलाई एमालेसँगै कांग्रेस, जसपा, लाेसपा, जसपा नेपाललगायत अधिकांश दलले विश्वासको मत दिँदैछन् ।
उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दलले मतदान गर्दैछन् ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।