काठमाडाैं ।
पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ । अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भीएआरले मान्यता नदिएको हो ।
खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह बी को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।
क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो ।
अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेल सर्कसमा परिवर्तन भएको प्रतिक्रिया दिएका छन् ।
त्यसअघि सौफिने रहिमीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि उनैले खेलको ५१ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै मोरक्कोलाई २ गोलको अग्रता दिलाए ।
तर, अर्जेन्टिनाले खेलको ६८ औँ मिनेटमा खेलमा फर्कने संकेत दियो । गिउलिनो सिमियोनीले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए ।
त्यसपछि अर्जेन्टिनाले आक्रमण कायमै राख्यो । खेलको अन्तिम समय ९० प्लस १६ मिनेटमा सनसनीपूर्ण गोल गर्दै क्रिस्टियन मेडिनाले खेल बराबरीमा ल्याएका थिए । तर, दुई घण्टापछि गोलले मान्यता पाएन ।