काठमाडौँ ।
आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्ब २० करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष साउनदेखि गत असारसम्मको अवधिमा विभिन्न मुलुकका लगानीकर्ताले सो मूल्य बराबरको विदेशी लगानी प्रतिबद्धता गरेका हुन् ।५४६ वटा लगानीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा स्वचालित प्रणाली र परम्परागत प्रणालीबाट गरी सो रकम बराबरको लगानीको प्रतिबद्धता आएको छ ।
सरकारले वैशाख १६ र १७ गते आयोजित दुई दिने लगानी सम्मेलनका क्रममा स्वचालित प्रणालीको सुरुवात गरेको थियो । स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत ५० करोड रुपैयाँसम्मका विदेशी लगानीका उद्योग स्थापना गर्न सकिन्छ ।
यो माध्यमबाट ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योगसमेत दर्ता गर्न पाइन्छ ।
वैशाखको तेस्रो सातादेखि सञ्चालनमा आएको यो प्रणालीबाटै त्यसयता ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । परम्परागत प्रणाली (उपस्थित बनेर दर्ता गर्ने विधि)मार्फत ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । स्वचालित प्रणाली र परम्परागत प्रणालीमार्फत गरी कुल ७० अर्ब २० करोडको लगानी प्रतिबद्धता आएको हो ।
यस अवधिमा ५४६ वटा उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । यस्तै नेपालमा वैदेशिक लगानी सुरु भए यता ६ हजार २६७ वटा प्रतिबद्धतामार्फत ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ ।
यसबाहेक यस अवधिमा स्वचालित प्रणालीमार्फत मात्रै १३९ वटा उद्योग दर्ता भएका छन् ।
विदेशी लगानीकर्ताले गरेको लगानी प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २२ हजार ९४ जनाले रोजगारी पाउनेछन् ।
तर नेपाल राष्ट्र बैंकको तथ्याङ्कले भने प्रतिबद्धता बमोजिम लगानी नआउने गरेको देखाउँछ ।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै लगानी असार महिनामा भित्रिएको छ । तथ्याङ्कअनुसार असार महिनामा मात्रै १९ अर्ब ९५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो महिना भित्रिएको प्रतिबद्धता बमोजिम लगानी आएमा १ हजार ९४५ जनाले रोजगारी पाउनेछन् ।
यस्तै वैशाखमा १२ अर्ब ३६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैशाखमा दुई दिन लगानी सम्मेलन आयोजना भएको थियो । लगानी बोर्डको नेतृत्वमा तेस्रो लगानी सम्मेलन आयोजना भएको थियो । सम्मेलनका क्रममा जम्मा १२ अर्ब हाराहारीको लगानी प्रतिबद्धता आएको थियो । सोही महिना उद्योग विभागमार्फत हुने प्रतिबद्धता समेत १२ अर्ब हाराहारी नै देखिएको थियो ।
लगानी बोर्डको कार्यालयले ६ अर्ब रुपैयाँभन्दा ठुला आयोजनाको लगानी स्वीकृत गर्छ । यस्तै २०० मेगावाटभन्दा बढीका विद्युत् आयोजनाको समेत लगानी स्वीकृति बोर्डले नै गर्छ । सोही कारण बोर्डले स्वीकृत गर्ने लगानी र विभागले गर्ने लगानीमा फरक–फरक तथ्याङ्क हुन्छ । आर्थिक वर्षको सुरुवातमा समेत ठुलो लगानीको प्रतिबद्धता भित्रिएको तथ्याङ्क छ ।
साउन महिनामा ११ अर्ब ९३ करोड लगानी प्रतिबद्धता भित्रिँदा ३ हजार ३०१ जनाले रोजगारी पाउने बताइएको छ । यसबाहेक माघमा सबैभन्दा कम ३४ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता भित्रिएको तथ्याङ्क छ ।
स्रोत – उद्योग विभाग
प्रतिबद्धता आए पनि लगानी भने नआउने गरेको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको एउटा सर्वेक्षणले प्रतिबद्धताको तुलनामा कार्यान्वयन न्यून देखाएको हो ।
राष्ट्र बैंकका अनुसार प्रत्येक वर्ष प्रतिबद्धताको ३६ प्रतिशत मात्रै कार्यान्वयन हुन्छ । सन् १९९५–९६ देखि २०२१–२२ सम्म गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।
उद्योग विभागका प्रवक्ता अर्जुन सेन ओलीका अनुसार गत आर्थिक वर्ष ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्रिनु प्रशंसनीय विषय हो । लगानी सम्मेलन आयोजना गरेको वर्ष र ५० करोड रुपैयाँसम्मको लगानी प्रतिबद्धता स्वचालित प्रणालीमार्फत भित्रिने व्यवस्था गरेको वर्ष उत्साहजनक प्रतिबद्धता आएको हो ।
उनका अनुसार यसअघि २०७०/७१ मा ६७ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । त्यसयता ठुलो मात्रामा लगानीको प्रतिबद्धता आइरहेको थिएन ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो । सो वर्ष ३२७ वटा लगानीमा ३८ अर्बभन्दा बढीको प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता कार्यान्वयन भएमा १७ हजारभन्दा बढीले रोजगारी पाउने विभागको तथ्याङ्क छ ।
प्रवक्ता ओली प्रतिबद्धता गरेपछि कार्यान्वयनको पाटो झन्झटिलो भएकाले सो बमोजिमको लगानी आउन नसकेको हुन सक्ने बताउँछन् । ‘कार्यान्वयनको पाटो लगानीकर्ताले सोचेबमोजिम नहुन सक्ने कारणले प्रतिबद्धता बमोजिमको नआएको हुन सक्छ,’ उनले भने ।
लगानी बोर्डको कार्यालयमार्फत २०८०/८१ मा २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता भित्रिएको छ । बोर्डको कार्यालयले दिएको जानकारी बमोजिम ९ वटा परियोजनामार्फत सो रकम बराबरको लगानी प्रतिबद्धता भित्रिएको हो । बोर्डको नेतृत्वमा आर्थिक वर्ष २०८०/८१ को वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।