उद्योगमन्त्री भण्डारी र अमेरिकी राजदूत थम्सनबीच आज शिष्टाचार भेट
उद्योगमन्त्री भण्डारी र अमेरिकी राजदूत थम्सनबीच आज शिष्टाचार भेट
    • बेल संचार

    • १५ श्रावण २०८१, मंगलवार

काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीआर थम्सनले आज शिष्टाचार भेट गरेका छन् ।

उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको बताएका थिए । अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको उनको भनाइ थियो ।

‘नेपालको आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्‍याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ,’ उनले भने ।

अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको उल्लेख मन्त्री भण्डारीले बताए । पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्त्वपूर्ण मुलुक भएको उनको भनाइ थियो।

‘नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् २०११ मा व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा) सम्पन्न भएको र उक्त सम्झौताअन्तर्गतको टिफा काउन्सिलको बैठकमा नेपाल सरकारका तर्फबाट यस मन्त्रालयले नेतृत्व गर्दै आएको छ,’ उनले भने ।

भेटमा राजदूत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरणलगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताए ।

विगतमा रोक्का हुने भनिएको यूएसएआईडीको कार्यक्रम निरन्तर हुने जनाउँदै उनले नेपाल र अमेरिकाबीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७ मा नेपालमै बस्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित