काठमाडौं ।
राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् ।
वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए
वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।
मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो ।
पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद पनि कायम राखिराख्न चाहेनन् ।
स्रोतका अनुसार वैरागीलाई भारतका लागि नेपालको राजदूत बनाउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिएका थिए ।
त्यसअनुसार वैरागीले ९ साउनमा राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिए ।
तर उनलाई भारतका लागि राजदूत बनाउन प्रधानमन्त्री ओली तयार भएनन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ राजदूत सिफारिस गर्दा भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ ।