ललितपुर ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथ आज (बिहीवार) जावलाखेल पुर्याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारीअनुसार ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयबासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पुर्याइनेछ ।
सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा, झाँकी सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिए । उनले भने, ‘परम्परागत जात्रा, पर्व, धर्म–सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।’आज दिउँसो ४ बजेपछि रथ तान्न शुरू हुने जनाइएको छ ।
गुठी संस्थान प्रमुख आचार्यले भने, ‘रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पुर्याइएको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’गत वैशाख २७ गते बिहीवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा शुरू भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा शुरू भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि शुरू भएको मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ । ‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ । ६ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ,’ आचार्यले भने ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ । ‘रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ, भन्ने किम्बदन्ती छ, सप्तपाताल पोखरीको विनाससँगै यो प्रचलन रोकिएको थियो, यसपटक हामीले पोखरीको पुनःनिर्माण गरिसकेका छौँ । अब यो परम्परा पुनःजीवित हुनेछ,’ उनले भने । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।