काठमाडाैं |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित मन्त्रालयका सचिव, योजना तथा बजेट महाशाखाका प्रमुखसँग बिहीबार अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गर्दै पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका र प्राथमिकताप्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन उनको निर्देशन छ ।
राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्रअन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउन समेत अर्थमन्त्रीले निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरू अघि बढाउन निर्देशन दिँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोतसाधनको सही सदुपयोग हुने बताए ।