यसरी आयो सोलुखुम्बुको थामेमा एकाएक बाढी
यसरी आयो सोलुखुम्बुको थामेमा एकाएक बाढी
    • बेल संचार

    • ३२ श्रावण २०८१, शुक्रबार

काठमाडौं

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा शुक्रबार दिउँसो एकाएक अप्रत्याशित ढंगले बाढी आयो । स्थानीय थामेखोलामा आएको अत्याशित बाढीले त्यहीँको तटीय क्षेत्रको गाउँ नराम्ररी प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

बाढी आएको ठाउँमा ठूलो पानी  परेको थिएन । तर माथिल्लो भेगबाट एकाएक लेदोसहितको बाढी आएपछि भागदौड मच्चियो । यस्तै तल्लो तटीय क्षेत्रको दुधकोशी क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले माइकिङ नै गर्नुपर्‍यो ।
बाढीले बगाएर खुम्बु पासाङल्हामु गाउँपालिका–५का एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् ।बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।​
जल तथा मौसम विज्ञान विभागले निरन्तरको वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिम पहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।

शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोलामा एक्कासि बाढी आएको भन्दै विभागले घटनाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ बटा हिमताल तथा हिमपोखरीहरू रहेको पाइएको  विज्ञप्तिमार्फत जानकारी दिए ।  यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको र  साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि हुँदै गएको पाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।  तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको पुगेको विभागको भनाइ छ ।

‘अतः विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिम पहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सो बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दुधकोशी र बुवाबजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासि करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो ।
तर, सो समय पश्चात् बिस्तारै बाढीको सतह घट्न थालेकाले र बुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नहुने देखिएपनि दुधकोशीको नदीतटीय क्षेत्रमा शनिबार बिहान सम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित