काठमाडौँ
काठमाडौँ महानगरपालिकाले अनधिकृत व्यक्ति विद्यालयमा बलपूर्वक प्रवेश गर्न खोजे र विद्यालयले सहयोग मागेको खण्डमा आफूले आवश्यक सहजीकरण गर्ने जनाएको छ ।
स्वच्छ वातावरणमा विद्यालय सञ्चालनका लागि सबै विद्यालयहरूलाई एक पत्राचार गर्दै महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरे/गराएको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति/समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारू गर्न सम्बन्धित सबैमा अनुरोध छ’, महानगरले भनेको छ, ‘यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरीवलका प्रहरी उपरीक्षक विष्णु जोशी (सम्पर्क नं ९८५१०६८५२३) लाई सम्पर्क गर्नुहुनसमेत अनुरोध छ ।’
महानगरले मन्त्रीपरिषद्ले २०६८ जेठ ११ गतेको निर्णयानुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको पनि स्मरण गराएको छ।