आथिक वर्ष २०७९/८० मा व्यावसायिक फुजी स्याउ उत्पादन गर्न पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत दुई वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आठ सय बिरुवा उपलब्ध गराएको थियो ।
छायानाथ रारा नगरपालिका–४ अन्तर्गत मुसेचौर कृषि पशुपक्षी फर्मलाई पाँच सय बिरुवा र वडा ५ सक्षम कृषि पशुपंक्षी फामलाई तीन सय बिरुवा दिइएको थियो । यस वर्षदेखि प्रत्येक प्रतिबोटमा पाँचदेखि आठ केजीसम्म स्याउ उत्पादन भएको छ ।
अन्य स्याउको तुलनामा फुजी स्याउको माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि, पशुपक्षी फार्मका सञ्चालक मनबहादुर भाम बताउँछन् । उनी भन्छन्, ‘फुजी स्याउको बिरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यावसायिक स्याउ खेतीमा लागेका किसानका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।’
व्यवसायी जसबहादुर बुढा बाबुबाजेले गर्दै आएको स्याउको तुलनामा यो जातको स्याउले राम्रो आम्दानी दिएको बताए । ‘मेहनतअनुसारको प्रतिफल पाइने र थोरै जग्गामा पनि धेरै विरुवा रोप्न सकिने भएकाले यो राम्रो भएको छ’, उनले भने । परियोजना कार्यान्वयन इकाइले आव २०८०/८१ मा नौ सय बिरुवा वितरण गरेको र चालु आर्थिक वर्षमा तीन हजार फुजी स्याउका बिरुवा ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको छ ।
परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिने गरेको इकाइ प्रमुख तेज विक्रम मल्लले बताए । राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म फल दिनसक्ने उनको भनाइ छ । फुजी स्याउको उत्पादनबाट मात्रै यस वर्ष यहाँका किसानले पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।