बुटवल ।
लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २९ औं बैठक बुधबार बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्ने कार्यसूची छ ।अघिल्लो बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनः छलफलका लागि कानून समितिमा पठाइएको थियो ।
समितिको बैठकले केही थप्नुपर्ने विषयहरूलाई समावेश गरेर पुनः प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो ।
प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने समेत कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।