रौतहट ।
प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सो अस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन् । अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको हो । टोली बा.एडि ९०६४ नम्बरको गाडीमा आएको थियो ।
जब सञ्चारकर्मीहरूले अख्तियारको टोलीसँग कुराकानी गर्न खोजे, उनीहरूले कुनै पनि जानकारी दिन अस्वीकार गरेका थिए । समाचार श्रोतहरूका अनुसार, अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किएका छन् । यस क्रममा स्टोर किपर राम अश्रेय मुखियासँग केही बेर सोधपुछ समेत गरेका थिए ।
अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेका छन । सो अस्पतालमा टाइल्स र मार्बल जडान,गाडि मर्मत , टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको आरोप छ ।
स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याबसँग साठगाँठ गरी लाखौं रुपैयाँको भ्रष्टाचार भएको छ । यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन् । उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको डा.अमित चाैधरीले बताए । स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस कारबाही नभएको गुनासो गरेका छन् । यश विषयमा अध्यक्ष हासमिसंग कुरा गर्दा अनियमितता नभएको दाबी गरेका छन ।
यस घटनाले अस्पतालको साखमा ठूलो धक्का दिएको छ, र अबको अनुसन्धानले भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको छ । टोली कहाँको हो र कति जना सदस्यहरू थिए भन्नेबारे पनि कुनै स्पष्टता दिइएको छैन ।