७५ प्रतिशत काम सकिएको खेलमैदान दुई वर्षदेखि अलपत्र
७५ प्रतिशत काम सकिएको खेलमैदान दुई वर्षदेखि अलपत्र
    • बेल संचार

    • ६ आश्विन २०८१, आईतवार

बाग्लुङ ।

बागलुङ नगरपालिका– ४ ओडारचौरमा नौ वर्ष अघि शुरू निर्माण भएको बहुउद्देश्यीय खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।

स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर खेलमैदान बनाउन थालिएको थियो ।

उक्त खेलमैदान निर्माण शुरू भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यीय खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताए ।

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्यारापिटसमेत भत्किएका छन् । खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौं लगानी गरेका छन् ।

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन् । ठाडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौंको संरचना नष्ट हुँदै आएको छ ।

बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ । खेलमैदान वरपर झाडी पलाएको छ भने प्यारापिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ ।

खेलमैदानका अध्यक्ष आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयबाट रु ३० लाख सङ्कलन भएको, प्रदेश र स्थानीय सरकारबाट रु ३० लाख र जनश्रमदानदान गरी करिब रु एक करोड लगानी भएको छ ।

‘करोड लगानी भएको खेलमैदानमा अहिले खेल्नसक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ । बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने ।

खेलमैदानलाई पूर्णता दिन थप रु ८० लाख आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । बागलुङ बजारस्थित निर्माणाधीन उक्त खेलमैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित