पर्सा।
खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।
पर्साको पर्सागढी नगरपालिका– ८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा)को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
उनले भने, ‘हामी नीतिगत रूपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौं, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन् ।’
यसैगरी उनले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गरेका थिए ।
जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको समेत दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।’