काठमाडौँ ।
अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने प्रतिनिधि मण्डलको संख्या घटाउन सांसदहरूले माग गरेका छन् ।
आइतबारको विकास, आर्थिक मामिला तथा सुशासनको समितिको बैठकमा बोल्दै सांसदहरूले ठुलो संख्यामा प्रतिनिधिहरू जाने तर उपलब्धि नहुने कुराको अन्त्य गर्न माग गरेका हुन् ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले घुम्न गएको जस्तो गरी धेरै सरकारी कर्मचारीहरु जाने कुरालाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले सरकार परिवर्तनसँगै महाशाखा र मन्त्रालयमा सो सम्बन्धित काम गर्ने सचिव/सहसचिवहरूको सरुवाले अन्तर्राष्ट्रिय फोरममा उत्कृष्ट प्रस्तुति दिन नसकिरहेको बताइन् । उनले अन्तर्राष्ट्रिय फोरममा हुने कार्यक्रमलाई रमाइलोमा सीमित गर्न नहुने बताइन् ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले कोप—२९ मा सहभागी हुनेहरुको संख्यामा गहन रुपमा सोच्नुपर्ने बताए । उनले भारत लगायतका देशहरुको संख्या हेरेर नेपालले पनि आवश्यक व्यक्तिहरूलाई मात्रै लैजानुपर्ने बताए । उनले पार्टी, अब्जरर्भर र मिडिया गरी तीन किसिमका व्यक्तिहरू सम्मेलनमा जाने गरेको भन्दै यसमा सरकारले रिभ्यु गर्नुपर्ने सुझाव दिए । उनले सम्मेलनका लागि मिडिया, एन्जिओ, विदेशीहरूले समेत सरकारी मनोनयन गरिदिन आग्रह गर्ने गरेको गुनासो गरे ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले जलवायु परिवर्तनका कारण वनविनाश, औद्योगीकरण, सहरीकरण बढेको बताइन् । उनले उद्योग क्षेत्र झनै धराशायी भएको भन्दै उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले उत्पादन बढाउने र नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा बिस्तार गर्नसक्ने गरी विकास गर्न जरुरी रहेको बताइन् ।
बैठकमा अन्य सांसदहरूले जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रका नागरिक र प्रतिनिधिहरूको प्रतिनिधित्व सम्मेलनमा अनिवार्य गराउन माग गरेका छन् ।