काठमाडौँ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा रहेकी छन् ।मन्त्री डा.राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गर्नुभएको उनको सचिवालयले जनाएको छ ।
सो भेटमा नेपाल र इन्डोनेसियाबीचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो ।
यसैगरी उनीहरुबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवद्र्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो । त्यसअवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्यस्तै आइतबार नै परराष्ट्रमन्त्री डा.राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो । उक्त भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन् ।
भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।