“महिलाभित्रको विविधता र अपाङ्गता भएका महिला र किशोरीको सवाल र कार्यनीति” बारे छलफल
“महिलाभित्रको विविधता र अपाङ्गता भएका महिला र किशोरीको सवाल र कार्यनीति” बारे छलफल
    • बेल संचार

    • ७ आश्विन २०८१, सोमबार

काठमाडौँ

अपाङ्गता भएका महिलाको सवालमा  “महिलाभित्रको विविधता र अपाङ्गता भएका महिला र किशोरीको सवाल र कार्यनीति” बारे छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
अपाङ्गता भएका महिलाहरुको महासङ्घ, राष्ट्रिय जनजाति अपाङ्ग महिला सङ्घलगायतले राष्ट्रिय अपाङ्ग कोष र अन्य सहयोगी संस्थासँगको सहकार्यमा सोमवार राजधानीमा सो कार्यक्रमको आयोजना गरको हो ।
सन् १९९५ मा विश्वभरका महिलाको अधिकारका लागि चीनमा भएको महिलाको महाभेलाले तय गरेको विभिन्न बुँदागत रुपमा घोषणा भएको अधिकारहरुको सवालमा हरेक देशले “समिक्षा” गर्दै आफ्नो देशको स्थितिको बारेमा प्रतिवेदनपत्र प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आगामी नोभेम्वर महिनामा नेपालले पनि समिक्षासहित प्रतिवेदन पेस गर्नुपर्ने कार्यक्रम रहेको छ ।

कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले महिलाका विविध समस्या र अधिकारभित्र पनि अपाङ्गता भएका महिलाको अधिकारलाई विषय छुट्न नहुने विषय भएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुको तथा महिलाको क्षेत्रमा आयोजना गरिने सबै कार्यक्रम जानकारी तथा ज्ञानवद्र्धक हुने बताउँदै यस क्षेत्रका समस्याप्रति आफु संवेदनसिल हुँदै सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले समाजका महत्वपूर्ण अङ्गहरु ज्येष्ठ नागरिक, अपाङ्गता भएका महिलाको मुद्दाप्रति सबैले संवेदनसिल दृष्टिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालीमा समाजमा अपाङ्गता भएका छोराले अंस जन्मजातै पाउँछन् भने जीवनभर परिवार र समाजका लागि योगदान दिने अपाङ्गता भएका महिलालाई अंश भाग नलाउने प्रवृत्ति रहेको बताउँदै बेइजिङ प्लस ३० मा अपाङ्गता भएका महिलाको हक अधिकारका विषयमा घनीभूत आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रा.डा सुर्यप्रसाद ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको विषय कार्यान्वयनका लागि आयोग सदैव सचेत रहेको बताउँदै आयोगलाई सरोकारवालाले सल्लाह, सुझाव र खबरदारी समेत गरिरहनुपर्ने बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका उपाध्यक्ष अनिता गैरे घिमिरेले महासङ्घमा आवद्ध चारसय भन्दा बढि सङ्घ संस्थामध्ये ज्यादै न्युन सङ्ख्याका संस्थालाई महिलाले नेतृत्व गरेको बताउनुभयो ।
उहाँले समग्रमा महिलाहरु अधिकारको दृष्टिबाट पछि परिरहेको अवस्थामा अपाङ्गता भएका महिलालाई अगाडि बढ्न शारिरीक मानसिक मात्र होइन, समाज र घर परिवारले हेर्ने दृष्टिले पनि फरक पारिरहेको बताउनुभयो ।
राष्ट्रि अपाङ्ग कोषका अधिकृत कृष्ण गहतराजले अपाङ्गता भएका महिला अधिकार र अन्य दृष्टिले पछि पर्दा समाज विकास र अन्य सुचाङ्कमा पनि सधैं पछि नै पर्ने सम्भावनालाई चिर्न पनि कोषले सहयोगी सामग्रीका साथै सशक्तिकरणमा पनि सहयोग गर्दै आएको बताउनुभयो ।


अपाङ्गता भएका महिलाहरुको महासङ्घका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाको सवालमा कार्यरत सो संस्थाहरुले सातै प्रदेशको प्रतिनिधीहरुको उपस्थितीमा महिला अधिकारका लागि विश्वभरका अधिकारकर्मी र सरोकारवालाहरु जुट्ने अवसरमा अपाङ्गता भएका महिलाको मुद्दा पु¥याउने पहल स्वरूप सो अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।
राष्ट्रिय जनजाति अपाङ्ग महिला सङ्घका अध्यक्ष गुरुङले सन् २०१४ देखि २०१८ सम्मका समिक्षा प्रतिवेदन हेर्दा अपाङ्गता भएका क्षेत्रका महिलाको विषयमा सम्वोधन नै गरिएको नपाइएको बताउनुभयो ।
उहाँले कसैलाई पनि पछि नपारौं भन्ने नारासहित दिगो विकास लक्ष्य,अपाङ्गता भएका व्यक्तिका अधिकार सम्वन्धी महासन्धिलाई नेपालले अनुमोदन गरिसकेको अवस्थामा महिलाको हकका लागि भएको बेइजिङ सम्मेलनको समिक्षामा अपाङ्गता भएका महिलाको सवाललाई छुटाउनु निराशाजनक अवस्था रहेको बताउनुभयो ।

त्यसैगरी बहिरा सङ्घका उपाध्यक्ष सत्यदेवी वाग्लेले दोभाषे दिवसको शुभकामना दिंदै सातै प्रदेशका प्रतिनिधिको सहभागिता रहेको दुईदिने कार्याशालाले अपाङ्गता भएका महिलाको अधिकारको मुद्दालाई विश्वसामु प्रस्तुत गर्न सकोस् भन्नुभयो ।

अपाङ्गता भएका महिलाहरुको महासङ्घ, राष्ट्रिय जनजाति अपाङ्ग महिला सङ्घलगायतले राष्ट्रिय अपाङ्ग कोष, राष्ट्रिय बहिरा सङ्घ र अन्य सहयोगी संस्थासँगको सहकार्यमा आयोजित “महिलाभित्रको विविधता र अपाङ्गता भएका महिला र किशोरीको सवाल र कार्यनीति” विषयक दुईदिने भेलामा सातै प्रदेशका अपाङ्गता अधिकारका अभियन्ता, प्रतिनिधीको सहभागीता रहेको छ ।

यस भेलाले अपाङ्गता भएका महिलाको सवालमा वृहत छलफल, स्रोत व्यक्तिहरूको कार्यपत्रलगायत विविध विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।
सो अवसरमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित