बागलुङ ।
बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यो तथ्यांक जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगी परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा छ जना डेंगीका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् ।
स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेंगी सङ्क्रमण देखिएको हो । डेंगी संक्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । डेंगीका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ ।