उपप्रधानमन्त्री र चिनियाँ समकक्षी लिफेङबीच बेइजिङमा भेटवार्ता
उपप्रधानमन्त्री र चिनियाँ समकक्षी लिफेङबीच बेइजिङमा भेटवार्ता
    • बेल संचार

    • ९ आश्विन २०८१, बुधबार

काठमाडाैं ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको छ ।

भेटका क्रममा चीनका उपप्रधानमन्त्री लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताएका थिए ।

उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेल निर्माण, टोखा-छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका थिए ।

त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरेका थिए ।

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको बताए । कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त भएको पनि उनले जानकारी दिए । ​

करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए ।

चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उड्डयन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी थिए ।

साताकाे चर्चित
सम्बन्धित