म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् ।
दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । “असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,” अध्यक्ष खड्काले भने ।
तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीनसय ५० को टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्तासम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ ।
तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब/भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ ।
कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापन गरी प्रचार गरेपछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।