बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल
बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल
    • बेल संचार

    • ३ कार्तिक २०८१, शनिबार

बागलुङ ।

बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्वीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ ।

एक सय दुई वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख रुपैयाँ खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए । दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उनले बताए । दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको हमालले जानकारी दिए ।

दरबार हेर्न दैनिक एक सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको उनले बताए । पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको वडाअध्यक्ष हमालले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित