ग्लोबल आईएमई बैंकद्वारा मुलुककै ठूलो सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता
ग्लोबल आईएमई बैंकद्वारा मुलुककै ठूलो सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता
    • बेल संचार

    • ५ कार्तिक २०८१, सोमबार

काठमाडाैं ।

ग्लोबल आईएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तुमा निर्माण गरी सञ्चालन गर्नेछ ।

साथै, उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चन्द्रौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको छ ।

यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताको आयोजनाहरूमा समेत लगानी रहेको हुँदा यस समूह सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह हो ।

नेपालमा सञ्चालित सौर्य परियोजनाहरू मध्य उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना हो ।

बैंकले नवीकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप सौर्य तथा जलविद्युत्‌मा सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​​

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित