प्रधानमन्त्री ओलीको असन्तुष्टि जात्रा पर्वमा नेताविरुद्ध नाराबाजीप्रति
प्रधानमन्त्री ओलीको असन्तुष्टि जात्रा पर्वमा नेताविरुद्ध नाराबाजीप्रति
    • बेल संचार

    • ५ कार्तिक २०८१, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन् । उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए ।

गत १० भदौमा गौर पर्व मनाउन प्रधामनन्त्री टुँलिखेल पुग्दा प्रधानमन्त्री ओली र शेरबहादुर देउवा लगायत नेताविरुद्ध नाराबाजी भएको थियो । त्यस्ता घटनाप्रति प्रधानमन्त्रीको असहमति छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए ।

‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ, तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने । इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्काउपूर्ण गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धूनहरु रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा पनि गरे ।

सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयन गर्न माग गरे । उनले राष्ट्र बैंकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए ।

सरकारले २०६५ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ। उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ ।

समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित