आजदेखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
आजदेखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
    • बेल संचार

    • ९ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने छ ।

सम्मेलनको समुद्घाटन गर्दै शिक्षामन्त्री विद्या भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्,‘आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ र हामी उनीहरुले उत्पादन गरेका कुराहरूलाई उपभोग मात्रै गरिरहने हो भने नेपाली समाज अघि बढ्न सक्दैन ।

विज्ञानलाई जीवनसँग जोड्ने गरी काम गर्न आवश्यक छ ।’विज्ञानलाई व्यवहारमा लागु गर्नेगरी काम गर्न आवश्यक रहेकोसमेत मन्त्री भट्टराईले बताएकी छन् ।  चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गरे । उनले भने, ‘हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ ।

’ मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराएका छन् ।

सम्मेलनको अध्यक्षता गरिरहेका प्रा. डा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यजस्ता समस्या समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई जोड दिए । उनले तीन दिनसम्म चल्ने सम्मेलनमा विज्ञानले देखाएका चुनौतीहरूको दिगो समाधान खोज्ने प्रतिबद्धताको लागि आह्वान गरे । ‘हामी सबैलाई सामना गर्ने चुनौतीहरूको नवीन जवाफ खोज्दै यो यात्रा सँगै अघि बढौँ,’ उनले आग्रह गरे ।

सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्त राज्य अमेरिका लगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित