बुटवल ।
दाङको भालुवाङका दुई बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ)का दुई सहायक हवल्दार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवलदार भरत रोका मगर र रेवन पचैया छन् ।
सशस्त्रको कार्यालयबाहिर दशैंको बेला पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको आरोप उनीहरूमाथि छ ।
उनीहरूले गत असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सशस्त्र प्रहरीका कर्मचारीहरूले बलात्कार गरेको थाहा पाएपछि स्थानीयले बुधबार गण घेराउ गरेका थिए ।
गणका एसपी रमेश थापालाई घटनाबारे पटक-पटक जानकारी गराउँदा पनि ढाकछोप गर्न खोजिएको आरोप आफन्तहरूले लगाएका छन् ।
घटना असोज २४ गतेको भए पनि ढाकछोप गर्न खोज्दा उनीहरू पक्राउ परेका थिएनन् ।
तर स्थानीयको आरोपपछि उनीहरू दुवै जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पीडित परिवारले राजमार्ग अवरोध गरी प्रदर्शन गर्दै आएका थिए ।