यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु परिवर्तनले पार्ने असर सम्बन्धी २ दिने कार्यशाला सम्पन्न
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु परिवर्तनले पार्ने असर सम्बन्धी २ दिने कार्यशाला सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • ११ कार्तिक २०८१, आईतवार

काठमाडौँ

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघनेपाल -(निडवान) ले महिलाहरूका निम्ति एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW) को सहयोगमा आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि दुई दिने यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी कार्यशाला काठमाडौँमा सम्पन्न गरेको छ ।

कात्तिक १० र ११ गते भएको दुई दिने सो कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW का निर्देशक मेनुका गेर्डन, यसै संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत निका कास्टिल्लो Nica Castillo, अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघनेपाल – (निडवान) का सात वटै प्रदेशका अध्यक्षहरूले पानसमा दीप प्रज्वलन गरेर गर्नु भएको थियो ।

यस २ दिने कार्यशालाको उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले हाम्रो समाजमा लैङ्गिक, जातीय, क्षेत्रीय तथा अपाङ्गताका आधारमा विभेद गरिने हुँदा यस्तो परम्परा हटाउनका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले कुनै पनि व्यक्तिले अपाङ्गता भएकोमा हीनताबोध हुने, आफूलाई कमजोर सोच्ने, मनोबल गिराउने लगायतका कार्यहरू गर्न नहुने भन्दै आदिवासी जनजाति आयोगको तर्फबाट आदिवासी जनजाति तथा अन्य वर्ग र समुदायका अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूका अधिकार सुनिश्चितका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW का निर्देशक मेनुका गेर्डनले सबैले यौन तथा प्रजनन स्वास्थ्य
अधिकारका विषयमा जानकारी राख्दै यसले आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका लागि पुर्याजउने असरहरूको निर्मुलिकरणका लागि काम गर्नु पर्ने बताउँदै यस कार्यक्रमको सफलताको कामना व्यक्त गर्नु भयो । त्यसै गरी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघनेपाल -(निडवान) का अध्यक्ष तथा पद्म कन्या क्याम्पसकी उपप्राध्यापक प्रतिमा गुरुङले नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा सरोकारवाला निकायहरूले अहिले सम्म कुनै कार्यक्रमहरू सञ्चालन नगरेको गुनासो गर्दै पहिलो पटक राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघनेपाल -(निडवान) ले यस विषयमा आवाज उठाउँदै आएको बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूमा पनि महिला, आदिवासी जनजाति महिलाहरू विभेदमा परेको, जान्ने र सिक्ने अवसरबाट वञ्चित रहेको, यौन तथा प्रजनन स्वास्थ्य र जलवायु परिवर्तनले के कस्तो असर गर्छ भन्ने विषयमा पनि पर्याप्त मात्रमा शिक्षा लिन नपाएको बताउनु भयो ।

साथै उहाँले आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी बङ्गलादेश, फिलिपिन्स र नेपालमा अध्ययन गरेर यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा पनि आवाज उठाउँदै आएको, आगामी नोभेम्बर १६ तारिकमा एसिया प्रशान्त क्षेत्रको उच्चस्तरीय मन्त्री स्तरको बैठकमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी विषयलाई उठान गर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले सन् २०१५ मा जेनेभामा भएको सम्मेलनमा जलवायु परिवर्तनले अन्य अपाङ्गता भएका महिला र विशेष गरी आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूमा पर्ने प्रभावका विषयमा एजेन्डा प्रस्तुत गरेको र त्यसैका आधारमा अहिले काम गर्न सहज भएको बताउँदै यो २ दिनको कार्यशालाबाट आएका सल्लाह सुझावहरूलाई दस्तावेजिकरण गरिने र आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु परिवर्तनले पार्ने असरका विषयमा प्रभावकारी रूपमा काम गर्ने बताउनु भयो ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघनेपाल -(निडवान) ले महिलाहरूका निम्ति एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW) को सहयोगमा आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि दुई दिने यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी कार्यशालामा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अन्य अपाङ्गता भएका महिलाहरूको तुलनामा आदिवासी अपाङ्गता भएका महिलाहरूका सवालहरू पछाडि परेको, भाषा, जनचेतनाका अभावका कारण विभिन्न अवसरहरूबाट वञ्चित रहेको बताउनु भयो । साथै उहाँले जनचेतना अभावका कारण अपाङ्गता भएका महिला, बालबालिका, किशोरीका प्रजनन अधिकारका लागि घर परिवारबाट नै कुण्ठित पारिने भन्दै अपाङ्गता भएका महिलाहरू प्रतिको गलत धारणालाई सबै मिलेर हटाउनु पर्ने, उनीहरूको प्रजनन स्वास्थ्य, यौनिकता, वैवाहिक अधिकारका लागि सबैले आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी उपाध्यक्ष कल्पना भट्टचनले आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि दुई दिने यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी कार्यशाला प्रभावकारी रहने भन्दै जलवायु परिवर्तनले अपाङ्गता भएका महिलाहरू त्यसमा पनि जनजाति अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि राज्य स्तरबाट नै विभिन्न कार्यक्रमहरूको आयोजना गरिनु पर्ने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गरिने बताउनु भयो ।

उक्त दुई दिने कार्यशालामा एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW) का निर्देशक मेनुका गेर्डनले यौन तथा प्रजनन स्वास्थ्य अधिकार, नेपालमा यसको अवस्थाका विषयमा र यसै संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत निका कास्टिल्लो Nica Castillo ले एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तन यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने असरका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त कार्यशालामा एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW) नेपालमा कार्यरत कार्यक्रम अधिकृत PMEL संस्कृति श्रेष्ठले यौन र प्रजनन स्वास्थ्य अधिकारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय उपकरणहरूका विषयमा प्रस्तुतीकरण गर्नु भयो भने आयोजक संस्थाकी अध्यक्ष तथा पद्म कन्या क्याम्पसकी उपप्राध्यापक प्रतिमा गुरुङले सहजीकरण गर्नु भएको थियो ।

यस कार्यशालामा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ( नीडवानले ) अध्ययन अनुसन्धान गरेर प्रकाशित गरेको आदिवासी महिला, किशोरी र अपाङ्गता भएका महिलाहरूका लागि सिड र आधारभूत सिफारिस नं ३५ – २०२२ नामक नेपाली बुक र Arrow को सहकार्यमा Amplifying Voices of Indigenous Women and Girls with Disabilities on the Nexus of Climate Change and Sexual and Reproductive Health and Rights (SRHR) जलवायु परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धमा आदिवासी जनजाति अपाङ्गता भएका किशोरीहरूको आवाज नामक पुस्तकको विमोचन पनि गरिएको छ । उक्त २ दिने कार्यशालामा ७ वटै प्रदेशका आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित