सुर्खेत ।
सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरू बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समीरलाई भ्याइ नभ्याइ छ ।
उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरू बेच्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ ।
उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष रु सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यस वर्ष रु दश लाख आम्दानीमा आशावादी छन् । “गत वर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यस वर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु”, उनले भने ।
समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लास्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उनको दुखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।
उनी भन्छन्, “हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।” भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।