दाङको राप्ती गाउँपालिका कार्यालयमा बाँसका कुर्सी
दाङको राप्ती गाउँपालिका कार्यालयमा बाँसका कुर्सी
    • बेल संचार

    • २५ कार्तिक २०८१, आईतवार

तुलसीपुर ।

दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।

राप्ती–५ स्थित करङ्गेकोटकी अनिष्मा ओलीले बनाएका ती सामग्री प्रयोगमा ल्याएको अध्यक्ष विष्टले बताए । ‘स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने हाम्रो उद्देश्य हो, विगतदेखि नै त्यसरी नै काम गर्दै आएका छौँ’, उनले भने, ‘अहिले हामीले बाँसबाट बनेका कुर्सीलाई कार्यालयमा प्रयोगमा ल्याएका छौँ ।’

गाउँपालिकाले उद्यमशीलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलालाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि ओलीले यसरी बाँसका फर्निचर बनाउन सुरु गरेकी हुन् । उनीसहित १५ जना युवा तथा महिलाले सामूहिक रुपमा व्यावसायिक बाँसको सामग्री उत्पादनको तयारी गरेका छन् ।
त्यसका लागि उनीहरुले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारीसमेत थालेका छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामग्री बनाएर आम्दानी गर्न सकिने उनीहरुको विश्वास छ ।

उनीहरुले मुढा, कुर्सी, टेबललगायत फर्निचरका सामग्री निर्माण तालिम लिएका छन् ।
स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने भन्दै यस्तो कार्यलाई आफूहरुले प्रोत्साहन गरेको अध्यक्ष विष्टले बताए ।

सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोगबाट निम्न आर्थिक आय भएका नागरिकहरुको जीवनस्तर बदलिने विश्वास व्यक्त गरे ।

साताकाे चर्चित
सम्बन्धित