काठमाडौं ।
बागमती प्रदेश हस्तकला संघ काठमाडौंले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सहकार्यमा सिड्नीमा नेपाली हस्तकला प्रदर्शनी २०२४ (बिटुबी) र बिटुसी) आयोजना गर्ने भएको छ । नेपाल दिवस २०२४ को उपलक्ष्यमा सिड्नीको पररामत्तामा यही १८ देखि २० नोभेम्बरसम्म नेपाली हस्तकला प्रदर्शनी आयोजना हुने संघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै नोभेम्बर २३ मा एनआरएनए अष्ट्रेलियाले आयोजना गर्ने नेपाल दिवस २०२४ को विशेष कार्यक्रम तुबालुंङ पार्क, डार्लिंग हार्बरमा हुने र उक्त कार्यक्रममा नेपाली हस्तकला प्रदर्शनी र बिक्रीसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेश हस्तकला संघबाट नौवटा हस्तकला उत्पादन तथा निर्यात व्यवसायीले विभिन्न हस्तकलाका सामान साथ सहभागिता जनाउने संघले जनाएको छ । मेलामा धातुका सामान, चाँदीका गरगहना, पौभा थान्काहरु(चित्रकला), नेपाली हाते कागजका सामानहरु, ऊनी तथा फेल्टका सामान, पश्मिना, माटो सेरामिक्स, नेपाली जुत्तालगायत रहने बताइएको छ ।
कार्यक्रममा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, नेपाल, अष्ट्रेलियाको महावाणिज्य दूतावास, नेपाल पर्यटन बोर्डलगायत सहयोगी संस्थाका रूपमा रहेको संघले जनाएको छ । नेपाली हस्तकलाको उद्यमशीलता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरणमा यस्ता प्रभावकारी कार्यक्रमले हस्तकला क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने आयोजकले विश्वास लिएको छ ।