काठमाडौं ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि योग्यता र अयोग्यताबारे जानकारी गराएको छ ।
आयोगका अनुसार २१ वर्ष उमेर पुरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, कुनै कानूनले अयोग्य नभएको व्यक्ति उम्मेदवार बन्न सक्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
जसमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैर नेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति, निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति अयोग्य ठहरिने जनाइएको छ ।
कुनै पनि कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, प्रचलित कानून बमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसुरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, प्रचलित कानूनले अयोग्य भएको व्यक्ति र जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने उल्लेख गरिएको छ ।