बाँके ।
बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरु भएको छ ।
हरिबोधनी एकादशीका अवसरमा लालपुरस्थित खुला मैदानमा तुलसी विवाह विशेष पूजाआजा गरी साँझ एकादशी मेलाको औपचारिक रुपमा शुभारम्भ भएको गाउँपालिका–६ का वडाध्यक्ष भुपाल पुनमगरले जानकारी दिए ।
साँझ पख सुरु भएर रातभर सञ्चालन हुने लालपुर एकादशी मेलामा बाँके र बर्दिया जिल्लाका टाढाटाढाबाट सर्वसाधारण पुग्ने गरेको बैजनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रुचालले बताए ।
परापौराणिक कालदेखि महादेवा मेलाका रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने गरेका छन् । मेला बुधवार दिउँसो १२ बजेसम्म निरन्तर सञ्चालन हुने निवर्तमान अध्यक्ष रुचालले जानकारी दिए ।