पाहानी राजवंशीले पकाएको भाक्का
पाहानी राजवंशीले पकाएको भाक्का
    • बेल संचार

    • ६ मंसिर २०८१, बिहीबार

झापा।

उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छिन् पाहानी राजवंशी र सुरु गर्छन् माटाको भाडामा भाक्का पकाउन। यतिबेला उनको दैनिकी नै बनेको छ यो काम।

मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४:३० बजे नै पुग्छिन्। पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उनले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ ।

पकाएको भाक्का ग्राहकलाई बेच्न उनका श्रीमान भद्रु राजवंशीले सहयोग गर्छन् । गोलभेडामा लसुन र अकबरे खुर्सानी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु. १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ । उनले दैनिक जसो दुई हजारदेखि दुई हजार पाँच सयसम्मको भाक्का विक्री गर्दै आएका छन् ।

भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरु, विद्यार्थी र गाडीका यात्रुहरु हुन्छन्। पाहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्नेहरु आधा दर्जन जति छन्। उनीहरुले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन् ।

चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ। धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरुले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन् ।

प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरुले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरुमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ ।

पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरुले मात्र बनाउने गर्दथे। तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरुले समेत भाक्का बनाउन थालेका छन्। यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक वर्ष पुस २९ गते झापामा विगत आठ वर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं. ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउँछन् । राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उनी बताउँछन् ।

साताकाे चर्चित
सम्बन्धित