काठमाडौँ ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ ।
नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयामका बारेमा ज्ञान हासिल गर्नेछन् ।
सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ । पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीप मूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रम उच्च प्राथमिकता दिँदै आएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले सञ्चालित रोजगारमूलक तालिमपछिको आबद्धता बढाउन पहिलोपटक डिजिटल तालिम सुरुआत गरेको र यसले सीप र रोजगारीलाई एकापसमा जोड्ने बताए। उनले भने, “डिजिटल तालिमपछि स्वदेशमा नै बसेर काम गर्न सक्ने रोजगारी प्राप्त हुने हुँदा नगरपालिकाले यस्ता तालिमलाई उच्च महत्व दिइएको हो । सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई तालिबाट पूर्ति गर्न पनि सहयोगसमेत मिल्छ । डिजिटल तालिमपछि सहभागीलाई रोजगारदातासंग कम्पनीसंग समन्वय पनि हुँदा यसको महत्व उच्च छ । ”
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, रोजगार सेवा केन्द्रका प्रमुख पुष्पराज शर्माले तालिमका महत्वका बारेमा जानकारी गराएका थिए ।