प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह  
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह  
    • बेल संचार

    • ११ मंसिर २०८१, मंगलवार

काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा चीन सरकारसंग सहमति गर्न सुझाब दिदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउनसमेत आग्रह गरेका थिए ।

यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बिषय औल्याएका थिए। भेटवार्तामा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।

भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए।

यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबीचको छलफल र सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ। स्मरणीय छ, २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष- नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित