काठमाडौँ
अन्तर्राष्ट्रिय शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एक्सन एड् नेपाल र शिक्षकका लागि राष्ट्रिय अभियान Union initiation for Trade Union And Education Rights ( UNITE) को संयुक्त आयोजनामा सोमबार एसिया प्रान्तका शिक्षामा क्षेत्रका चुनौतीहरू, गुणस्तरीय शिक्षा, शिक्षाका सवालमा राज्यले बनाएका नीति नियम तथा ऐन कानुनका विषयमा पत्रकारहरूसँग मंसिर १० काठमाडौंमा छलफल गरियो । यस कार्यक्रममा नेपाल शिक्षक संघका सङ्घीय अध्यक्ष सोमनाथ गिरीले यस संस्थाहरू मार्फत विगत लामो समय देखि शैक्षिक सुशासनका लागि काम गरिएको भए पनि सम्पूर्ण शिक्षाको सवालमा राज्यले दायित्व वहन गर्न नसकेको गुनासो व्यक्त गर्नु भयो ।
साथै उहाँले गुणस्तरीय शिक्षाका लागि सही व्यवस्थापन र आवश्यक लगानी गर्नु पर्ने, सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी सरोकारवाला विश्व संवाद सार्वजनिक शिक्षा नामक शीर्षक राखेर आयोजना गरिएको उक्त अन्तरक्रियामा संस्थागत विद्यालय शिक्षक युनियन ISTU का राष्ट्रिय अध्यक्ष होमकुमार थापाले शिक्षा सम्बन्धमा अहिलेको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । उक्त प्रस्तुतीकरणका क्रममा उहाँले शिक्षामा लगानी, आवश्यक बजेट, शिक्षामा सरकारी खर्च, नमुना विद्यालयहरूको बारेमा अहिले भएको अवस्थाको बारेमा प्रस्ट पार्नु भयो ।
यसै क्रममा उहाँले वडा स्तरमा नै शिक्षा सम्बन्धी नियमावली बनाइएको भएता पनि राज्य स्तरबाट शिक्षकहरूलाई आवश्यक तालिम प्राप्त हुन नसकेको, शिक्षकहरूका लागि कम तलब, काम गर्ने वातावरण नभएको, शिक्षामा निजीकरणको प्रभाव, प्रविधिको विकासमा कमी जस्ता कारणले गर्दा नेपालमा शिक्षाको क्षेत्रमा काम गर्ने निकायहरूले विभिन्न चुनौतीको सामना गर्न परेको जसले गर्दा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको गुनासो गर्नु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संघगठन NNTA का राष्ट्रिय उपाध्यक्ष Education international Asia Pacific Region का सदस्य कमला थापाले महिला हिंसाको न्यूनीकरणका लागि पनि शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले शिक्षा सबैका लागि गुणस्तरीय हुन पर्ने बताउनु भयो ।
साथै उहाँले मानिसका व्यवहारमा पनि सकारात्मक परिवर्तन ल्याउनका लागि पनि शिक्षाको महत्त्वपूर्ण भूमिका हुने हुँदा शिक्षाका सवालमा सरकारी तथा गैर सरकारी निकायहरूले सकारात्मक रूपमा काम गर्नु पर्ने बताउनु भयो । Union initiation for Trade Union And Education Rights ( UNITE) गण्डकी प्रदेशकी प्रतिनिधि सिता गौडेलले नेपालको शिक्षा भएका ऐन कानुन अनुसार हुन नसकेको, शिक्षामा निजीकरण हुँदा सकारात्मक रूपमा शिक्षा प्रभावकारी हुन नसको, यस विषयमा अभिभावकहरूलाई सचेत गराइनु पर्ने बताउनु भयो । पत्रकारहरूसँग गरिएको उक्त छलफल कार्यक्रमको सहजीकरण खबर एजुकेसन डट कम का अध्यक्ष तथा सम्पादक लक्ष्मी ढकालले गर्नु भएको थियो ।
यसै क्रममा उहाँले राज्यले शिक्षामा कूल बजेटको २० प्रतिशत रकम लगानी गर्न जरुरी रहेको भन्दै शिक्षाको क्षेत्रमा शिक्षक तथा कर्मचारीहरूले ढुक्कले काम गर्न सक्ने वातावरणको पनि सृजना गर्नु पर्ने, विद्यालयमा प्रदान गरिने दिवा खाजालाई गुणस्तरीय बनाउनका लागि यसको वृद्धि गर्नका लागि पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनकी सदस्य मञ्जु बस्नेतले शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू तथा प्रतिनिधिहरूका समस्या, चुनौतीहरू र तिनीहरूको समाधान, ऐन कानुन निर्माण तथा कार्यान्वयनका सवालहरूलाई सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण गरिदिनु पर्ने बताउनु भयो । साथै उहाँले शिक्षामा कसैले पनि राजनीति गर्न नहुने कुरामा जोड दिनु भयो ।
त्यसै गरी गोर्खा पत्र दैनिककी फोटो पत्रकार कविता थापाले सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा सत्य तथ्य कुराहरुहरुको खोजी गरेर प्रकाशन प्रसारण गर्ने भन्दै शिक्षाको क्षेत्रमा भएका नकारात्मक पक्षको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराउन आग्रह पनि गर्नु भयो । यसै क्रममा खबर एजुकेसन डट कमका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक पुष्पा अधिकारीले शिक्षाका सवालमा काम गर्ने क्रममा शिक्षा सम्बन्धीका संघ, संघठनहरु तथा विद्यालयहरूले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षालाई पनि प्राथमिकता दिनु पर्ने, गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षक तथा विद्यार्थीहरू उत्पादन गर्न तर्फ इमानदारी पूर्वक काम गर्नु पर्ने बताउनु भयो । साथै उहाँले सञ्चार माध्यमहरूले कुनै पनि विषयमा सत्य तथ्य समाचारहरूलाई प्रकाशन तथा प्रसारण गर्ने हुनाले शिक्षाका क्षेत्रमा भएका नकारात्मक गतिविधीहरुलाई पनि नलुकाउन आग्रह गर्दै सञ्चार माध्यम र सञ्चारकर्मीहरूसँग सहकार्य गरेर काम गर्ने कुरामा जोड दिनु भयो ।