अपाङ्गता भएका व्यक्तिहरूको ३३ ‍औ अन्तर्राष्ट्रिय दिवसका विषयमा पत्रकार सम्मेलन
अपाङ्गता भएका व्यक्तिहरूको ३३ ‍औ अन्तर्राष्ट्रिय दिवसका विषयमा पत्रकार सम्मेलन
    • शर्मिला विश्वकर्मा

    • १७ मंसिर २०८१, सोमबार

काठमाडौँ

अन्तर्राष्ट्रिय रूपमा मनाउने विभिन्न दिवसहरू मध्ये अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस पनि एक हो र यस दिवसलाई विश्वभरि हरेक वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको अन्तर्राष्ट्रिय र नेपाल सरकारद्वारा निर्धारण गरिएको राष्ट्रिय मूल नारा सहित डिसेम्बर ३ तारिखका दिन देखि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर सप्ताह व्यापी रूपमा यो दिवसलाई मनाउने गरिन्छ ।

यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यस वर्ष अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरूको विषयमा जानकारी दिने उद्देश्यले केन्द्रीय कार्यालय भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । यस पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले यस वर्षको अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसको संयुक्त राष्ट्रसंघले तय गरेको अन्तर्राष्ट्रिय नारा “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future.” र नेपाल सरकारद्वारा निर्धारित गरिएको राष्ट्रिय मूल नारा ” समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार ” भन्ने रहेको भन्दै प्रेस विज्ञप्ति पढेर सुनाउनु भएको थियो । यसै क्रममा उहाँले सन् १९९३ मा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको स्थापना भएको र त्यही समय देखि नेपालमा यो दिवस मनाउन थालिएको बताउनु भयो ।

यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनमा भएका विभेदकारी व्यवस्थाहरू हटाउनका लागि पैरवी गर्नु पर्ने, उनीहरूको कानुनी क्षमताको स्वीकार्यतालाई सुनिश्चित गर्न सहयोगमा आधारित निर्णय प्रक्रियालाई प्रवर्धन गराउन पहल गरिनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ३६ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको खेल तथा मनोरञ्जनका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र स्थानीय तह सम्मका खेलकुदहरूमा सहभागिताका साथै राष्ट्रिय पारा तथा विशेष खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्थाका लागि सम्बन्धित निकायहरूमा वकालत तथा पैरवी गरिने कुरामा पनि जोड दिनु भएको थियो । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवस डिसेम्बर १ तारिख देखि नै सप्ताह व्यापी रूपमा मनाउने कार्य तालिका रहेको भन्दै यस पटकको दिवस महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग कोषको साझेदारीमा मनाइने बताउनु भयो ।

त्यसै गरी नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले यस वर्ष विशेष गरी शिक्षा लिनबाट वञ्चित रहेका र विभिन्न तालिम मार्फत स्वरोजगार हुनबाट पनि वञ्चित रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्ण अपाङ्गता भित्र समावेश गरिनु पर्ने, प्रतिलिपि अधिकार छुट दिने “मराकस संधी” लाई अविलम्ब प्रतिनिधि सभाबाट अनुमोदन गराई अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० कार्यान्वयनका लागि वकालत तथा पैरवी गर्ने बताउनु भयो । उक्त पत्रकार सम्मेलनमा डिसेम्बर ३ तारिखका दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको प्रमुख आतिथ्यमा काठमाडौँको शान्ति बाटिकाबाट जनचेतना मूलक प्रभात फेरी कार्यक्रमको आयोजना गर्ने र भृकुटीमण्डपमा आएर यस दिवसको मूल समारोहको औपचारिक कार्यक्रम सञ्चालन गर्ने, प्रमुख अतिथिबाट मूल समारोह कार्यक्रमको उद्घाटन गर्ने, शुभकामना मन्तव्य, अपाङ्गताको क्षेत्रमा योगदान पुराएका विभिन्न विधाका व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रमहरू गरिने जानकारी पनि गराइएको थियो । डिसेम्बर २ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँको सुन्धारा स्थित धरहराको परिसरमा साँझ ५ बजे राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा दीप प्रज्वलन पनि गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित