काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।
अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्नेगरी म्याद थपको माग गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।
यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।