काडमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर अन्य दल प्रवेश गरेका नेताहरू पुनः पार्टीमै फर्किन संवादमा रहेको बताएका छन् । उपनिर्वाचनमा पाएको मतका कारण माओवादीप्रति आकर्षण बढेको उनले बताए ।
शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले स्थानीय तहको उपनिर्वाचनले माओवादीको पक्षमा जनमत देखाएकाले पार्टीमा फर्किने आकर्षण बढेको बताएका हुन् ।
‘एमाले–कांग्रेस सरकारको अलोकप्रियताका कारण पनि माओवादीप्रति जनआकर्षण बढेको छ,’ बैठकमा प्रचण्डले भने, ‘अहिले बैठक सकिएलगत्तै म पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन लुम्बिनी जाँदैछु ।’
माओवादी छाडेर एमालेका गएका केही नेता पार्टीमा फर्किन संवादमा रहेको उनले बताएका थिए । तर, उनले को नेता फर्किन लागेको भनेर खुलाएनन् । ‘पार्टी छाडेर गएका नेताहरू फर्किनका लागि संवादमा छन्, पार्टीमा फर्किन चाहनेलाई पुरानै पदमा समायोजन गर्नेगरी कुरा भइरहेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले लोकान्तरसँग भने ।
अध्यक्ष प्रचण्डले सरकारले विश्वविद्यालयमा हस्तक्षेप गरेको आरोप लगाउँदै खबरदारी सभामार्फत विरोध गर्ने बताए ।
फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको चीन भ्रमण उपलब्धिविहीन भएको समेत दाबी गरे ।
माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक पुस २१ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।