काठमाडाैं ।
सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानून चाँडै बन्ने बताएका छन् । पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । संसारमा संसद् प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको उनले बताए । ‘संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने ।
प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले नागरिकको विकास आकांक्षा पूरा गर्नेतिर केन्द्रित हुन अपिल गरे ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरू निर्माण गर्न ढिला भएको बताउँदै उनले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसद्ले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । ‘आधारभूतरूपमा संघीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानून बन्नेमा आशावादी बन्न सकिन्छ,’ उनले भने ।
सम्मेलनमा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका पदाधिकारीको सहभागिता छ ।