प्लान इन्टरनेशनल नेपालद्वारा हिमा गाउँपालिका वडा नं. १ का अध्यक्ष रतन बहादुर शाहीलाई सम्मान
प्लान इन्टरनेशनल नेपालद्वारा हिमा गाउँपालिका वडा नं. १ का अध्यक्ष रतन बहादुर शाहीलाई सम्मान
    • बेल संचार

    • ३ पुष २०८१, बुधबार

जुम्ला

हिमा गाउँपालिका, जुम्ला वडा नं. १ का अध्यक्ष रतन बहादुर शाहीलाई प्लान इन्टरनेशनल नेपालले सम्मान गरेको छ। आत्म सम्मानको लागि सहकार्य क्याड नेपालसँगको सहकार्यमा सिंजा क्षेत्रमा पहिलो बालविवाह मुक्त वडा घोषणा गरेकोमा वडा अध्यक्ष शाहीलाई प्लान इन्टरनेशनल नेपालले सम्मान गरेको हो।

बालविवाह मुक्त वडा घोषणा गरेपछि आज ललितपुरमा आयोजित कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले वडा अध्यक्षलाई प्रशंसा-पत्र प्रदान गरी सम्मानित गरेको हो।

हिमा गाउँपालिकाले बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकारको प्रवर्द्धन गर्दै बालविवाह अन्त्य गर्न प्रभावकारी काम गर्दै आएको छ। प्लान इन्टरनेशनलको सहकार्यमा सञ्चालित “बालविवाह, घिटो विवाह र जबर्जस्ती विवाह रोकथाम परियोजना” अन्तर्गत स्थानीय सरकार, समुदाय र संघ-संस्थाले मिलेर बालविवाह रोकथाममा महत्वपूर्ण योगदान पुर्याएका छन्।

वडा नं. १ ले बालविवाह अन्त्यमा देखाएको दृढता र सक्रियतालाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो।

स्थानीय सरकार र वडाबासीहरूको सहकार्यबाट बालविवाह रोक्न व्यापक सचेतना कार्यक्रम, किशोर-किशोरीको अधिकारमा आधारित अभियान र परिवारहरूको आर्थिक सशक्तिकरण जस्ता महत्वपूर्ण प्रयास गरिएको थियो।

यो अवसरलाई थप उर्जाशील रूपमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै वडा अध्यक्ष शाहीले आगामी दिनमा पनि बालविवाह विरुद्धका कार्यक्रमलाई निरन्तरता दिने बताए। यस सम्मानले बालविवाह रोकथाम अभियानलाई थप बल पुर्याउने विश्वास गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित