काठमाडौं ।
टोटनहाम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलअन्तरले हराउँदै इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार राति भएको रोमाञ्चक क्वाटरफाइनलमा टोटनहामले शानदार प्रदर्शन गर्दै युनाइटेडलाई पराजित गरेको हो।
टोटनहामको जितमा डोमिनिक सोलान्केले दुई गोल गर्दै प्रमुख योगदान दिए, जबकि डेजान कुलुसेभ्स्की र सन ह्युङमिनले १-१ गोल गरे। युनाइटेडको तर्फबाट जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले एक-एक गोल गरे।
खेलको १५औं मिनेटमा सोलान्केले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक मात्र गोल भए पनि दोस्रो हाफ रोमाञ्चक बन्यो, जहाँ थप ६ गोल भए। ४६औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ५४औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहामलाई ३-० ले अगाडि राखे।
तर, युनाइटेडले खेलमा फर्कने प्रयास गर्दा ६३औं मिनेटमा जर्क्जीले गोल गरे, र ७०औं मिनेटमा दियालोले अर्को गोल थपे। यसले युनाइटेडलाई ३-२ मा फर्कायो। ८८औं मिनेटमा सन ह्युङमिनले गोल गर्दै टोटनहामको अग्रता फेरि बढाए, र इन्जुरी समयमा जोनी इभान्सको गोलले खेल ४-३ को अवस्थामा पुग्यो।
टोटनहामले अब लिभरपुलसँग फाइनल स्थानका लागि प्रतिस्पर्धा गर्ने छ। लिभरपुलले हिजो साउथह्याम्पटनलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।