म्याग्दी ।
वैदेशिक रोजगारीमा चार वर्ष बिताएर फर्किंदा म्याग्दी बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङसँग न घरव्यवहार चलाउने निश्चित स्रोत थियो, न त पाँच छोराछोरीलाई पढाउने स्पष्ट योजना। तर दृढता, परिश्रम र लगनशीलताले उनले कृषि पेशालाई समातेर छोराछोरीलाई प्रतिष्ठित पेशामा स्थापित गराएका छन्।
विसं २०५८ मा तिलक गुरुङले ‘केन्जन बहुउद्देश्यीय कृषि फार्म’ स्थापना गर्दै गाईभैँसी, कुखुरा पालन र सुन्तला खेती सुरु गरे। सुरुवाती चरणमा उनले दूध, अण्डा र साना परिमाणमा सुन्तला बेचेर आफ्नो आर्थिक यात्रा अघि बढाए।
हाल, तिनै सुन्तला खेती र पशुपालनको आम्दानीबाट उनले आफ्नो परिवारलाई आर्थिक रूपमा सम्पन्न मात्र होइन, शैक्षिक रूपमा पनि उच्च स्थानमा पुर्याएका छन्। उनका पाँचै जना छोराछोरी विभिन्न प्रतिष्ठित पेशामा छन्।
गुरुङका छोराछोरीमध्ये जेठी यास्ना मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता छन्। काइली साकिरा आर्किटेक्ट इन्जिनियर र कान्छी निलिमया स्टाफ नर्सका रूपमा कार्यरत छन्। उनका छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरिङको स्नातक तह अन्तिम चरणमा पुर्याएका छन्।
गुरुङले यस वर्ष सुन्तलाका ३५० बोटबाट फलेको उत्पादन व्यापारीलाई प्रत्यक्ष रूपमा रु १४ लाखमा बेचे। उनीसँग हाल १२ वटा गाईभैँसी छन्, जसबाट दैनिक ९० लिटर दूध बेच्छन्।
गुरुङको यो सफलताले उनलाई स्थानीय र राष्ट्रिय स्तरको ‘कृषि उद्यमी पुरस्कार’ समेत दिलाएको छ। उनी हाल बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक हुन् र ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) अवधारणाको अगुवाइ गर्दै आएका छन्।
गुरुङकै प्रेरणाले बास्कुनाका अन्य कृषकले पनि सुन्तला खेती र गाईभैँसी पालन सुरु गरेका छन्। यस क्षेत्रका १६ घरपरिवारले सुन्तला र दूध बिक्रीबाट प्रत्यक्ष फाइदा उठाइरहेका छन्। यस वर्ष बास्कुनामा मात्रै सुन्तलाबाट रु १ करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको छ।
सुन्तलाका बगैँचाले गाउँको रूप र रंग बदलेको छ। कृषकहरू सुन्तलाको गुणस्तर सुधार र उचित मूल्य निर्धारणका लागि संगठित भएका छन्। गत वर्ष रु ८० प्रतिकिलोमा बिक्री भएको सुन्तलाको मूल्य यस वर्ष रु ८५ प्रतिकिलोमा निर्धारण गरिएको छ।
बास्कुनालाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मा समावेश गरिएपछि कृषकलाई झर्याङ, क्रेट, र झरेका फल व्यवस्थापनका सामग्री उपलब्ध गराइएको छ। साथै, बालमखोला सिँचाइ आयोजना निर्माणपछि खेती गर्न अझ सहज भएको छ।
गाउँमा बाँदर आतङ्क, सुन्तलाको दाना झर्ने समस्या, र बेनी–थामडाँडा–बरङ्जा सडक स्तरोन्नति नहुनु मुख्य चुनौती हुन्। तर, प्रदेश सरकारको बजेट र कृषकहरूको सक्रियताले यी समस्याहरू समाधानतर्फ उन्मुख भएका छन्।
तिलक गुरुङको संघर्ष र सफलताले बास्कुनाका कृषकको जीवनस्तरमा मात्र होइन, समग्र गाउँको आर्थिक तथा सामाजिक रूपान्तरणमा ठुलो योगदान पुर्याएको छ। “दुई दशकअघि कल्पना गरिएको ‘एफएम भिलेज’ आज वास्तविकतामा परिणत भएको छ,” गुरुङ गर्वका साथ भन्छन्।