प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई सम्मान गरे, क्रिकेटको भविष्य उज्जवल बनाउने प्रतिबद्धता
प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई सम्मान गरे, क्रिकेटको भविष्य उज्जवल बनाउने प्रतिबद्धता
    • बेल संचार

    • ७ पुष २०८१, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको विशेष कार्यक्रममा, ओलीले जनकपुर बोल्ट्सको उत्कृष्ट प्रदर्शनको कदर गर्दै नेपाली क्रिकेटको स्तर उकास्न उनीहरूको योगदानलाई महत्त्व दिएका छन्।
शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो।

प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाली क्रिकेटलाई अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै भने, “विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन्,” र यसका लागि आत्मबल, सीप र उत्साहलाई निरन्तर कायम राख्न आग्रह गरे।

ओलीले कीर्तिपुर क्रिकेट मैदानको स्तर उकास्नका लागि प्रधानमन्त्री बनेपछि पहिलो निर्णयको रूपमा यसको स्तर सुधार कार्यको पहल गरेको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले विदेशी खेलाडी नेपाल आउने क्रममा र नेपालका खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउनका लागि रहेका झञ्झटिलो प्रक्रियाका बारेमा गुनासो सुनेको बताउँदै भने, “सरकार यसमा आवश्यक सहजीकरण गर्नेछ।”

क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारलाई क्रिकेटलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिँदै, विदेशका ठुला खेलाडीहरूको श्रम स्वीकृतिमा भएका झञ्झटिलो प्रक्रियाहरू अन्त्य गर्न आग्रह गरे।

साताकाे चर्चित
सम्बन्धित