कैलाली ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार गठन भएको बताएका हुन्।
उनले सरकारलाई कुनै पनि हालतमा आफ्नो म्यान्डेट पूरा गर्न र निष्कर्षमा पुग्न सुझाव दिए। “यो अन्तिम विकल्पको सरकार हो। संसदका दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसके देशमा अराजकता निम्तिन सक्छ भनेर धेरै विद्वानहरूले चेतावनी दिएका छन्,” डा. कोइरालाले भने। “यस सरकारलाई असफल हुने छुट छैन। जुनसुकै परिस्थितिमा पनि सरकार अगाडि बढ्नैपर्छ।”
नेता कोइरालाले संविधान संशोधनका लागि कांग्रेस र एमाले मात्र पर्याप्त नभएकाले सबै राजनीतिक दलबीच बृहत् समझदारी आवश्यक रहेको बताए।
त्यसैगरी, उनले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै तत्काल काम अगाडि बढाउनुपर्ने र कांग्रेसले यसमा विशेष चासो लिइरहेको उल्लेख गरे। उनले एक वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सबैलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।