सभामुख घिमिरे: समितिका बैठकमा कोरम नपुग्ने समस्या समाधान गर्न कडा कदम आवश्यक
सभामुख घिमिरे: समितिका बैठकमा कोरम नपुग्ने समस्या समाधान गर्न कडा कदम आवश्यक
    • बेल संचार

    • ७ पुष २०८१, आईतवार

काभ्रेपलाञ्चोक ।

सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका बैठकहरूमा कोरम नपुगेर विधेयक समितिका बैठक बस्न नसक्ने समस्याबारे चिन्ता व्यक्त गर्दै, बैठकमा अनुपस्थित सदस्यहरूलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउनु आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ सम्बन्धी समीक्षात्मक कार्यक्रमको समापनका अवसरमा सभामुख घिमिरेले समितिका पदाधिकारी र सदस्यलाई बैठकमा उपस्थिति सुनिश्चित गराउन कडाइ गर्नुपर्ने बताएका हुन्।

“समितिका पदाधिकारी र सदस्यलाई कडाइकासाथ बैठकमा बोलाउनुपर्छ। आउनुभएन भने स्पष्टीकरण सोध्नुपर्छ। तर, यो कार्यान्वयन हुन सकेको छैन,” सभामुख घिमिरेले भने। उनले विधेयक समितिको बैठक तीन पटकसम्म कोरम नपुगेर स्थगित हुँदा तेस्रो बैठक एक तिहाई उपस्थितिमा सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए।

उनले संसद् सचिवालयले समितिका बैठकहरू प्रभावकारी बनाउन प्रक्रिया पुर्‍याए पनि अपेक्षित परिणाम प्राप्त नभएको गुनासो गरे। “व्यवस्थाअनुसारको बैठक बसाल्न सबैले प्रयत्न गर्नुपर्छ। समस्या समाधान हुँदै जान्छ,” उनले भने। समितिलाई प्रभावकारी रूपमा चलायमान बनाउन सबै पक्षको भूमिका आवश्यक रहेको उनको भनाइ छ।

सभामुख घिमिरेले संसद् सचिवालयले समयमै अध्यादेश दर्ता नगर्ने तथा अन्तिम समयमा मात्रै अध्यादेश आउने प्रवृत्तिले पनि समस्या सिर्जना गरेको बताए। “संसद्सँग समन्वय नगरी अध्यादेश दर्ता गर्दा समस्या भएको छ। यसमा ध्यान जानु आवश्यक छ,” उनले भने।

संसद्लाई गतिशील र प्रभावकारी बनाउन सबै दल, समितिहरू, सरकार र संसद् सचिवालयको उत्तिकै दायित्व रहेको सभामुख घिमिरेले बताए। “सभामुखले गरेका निर्णय कार्यान्वयन हुने वातावरण तयार हुनुपर्छ। यसको अभाव भएको छ,” उनले दुःखेसो पोखे।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल, सांसद र सचिवालय सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइन्। उनले दोस्रो सङ्घीय संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक सहकार्य आवश्यक रहेको बताइन्।

साताकाे चर्चित
सम्बन्धित