सुनसरीका रमेश कटुवालको व्यावसायिक माछापालन : वार्षिक रु ११ लाख आम्दानी
सुनसरीका रमेश कटुवालको व्यावसायिक माछापालन : वार्षिक रु ११ लाख आम्दानी
    • बेल संचार

    • ८ पुष २०८१, सोमबार

सुनसरी ।

सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवालले व्यावसायिक माछापालनमार्फत उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। कटुवालले ६ बिघा क्षेत्रमा पोखरी निर्माण गरी माछापालन गर्दै वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी गर्दै आएका छन्।

कटुवालले जग्गा भाडामा लिएर दुई जनाको साझेदारीमा रु ३१ लाख लगानीमा पोखरी निर्माण गरेका हुन्। पोखरीमा बिगेट, रेहु, नैनी, कोमन, र पंगास (बैखी) जातका माछा पालन गरिएको छ। कटुवालका अनुसार वार्षिक रुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिका ५० क्विन्टल र पंगास जातका एक सय क्विन्टल माछा उत्पादन भइरहेको छ।

पंगास माछापालनतर्फ किसानहरूको आकर्षण
पछिल्लो समय परम्परागत माछाका साथ नयाँ प्रजाति पंगास (बैखी) माछापालनतर्फ किसानहरूको रुचि बढेको कटुवालले बताए। कम क्षेत्रफलमा थोरै लगानीमै पंगास माछा बढी उत्पादन हुने भएकाले यो प्रजाति व्यावसायिक उत्पादनका लागि उपयुक्त मानिएको छ।

पंगास माछाको स्वाद सबै उमेर समूहका मानिसले मन पराउन थालेपछि यसको माग र उत्पादन दुवै बढिरहेको छ। कटुवालका अनुसार पंगास माछाको उत्पादन र उत्पादकत्व परम्परागत माछाभन्दा उच्च रहेको छ।

सुनसरीमा माछापालनको विस्तार
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, इनरुवाका निमित्त कार्यालय प्रमुख डा. मनोजकुमार महतोका अनुसार सुनसरी जिल्लामा ५८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन भइरहेको छ। पंगास माछापालनको क्षेत्रफल हरेक वर्ष विस्तार हुँदै गएको उनले बताए।

माछापालन व्यवसायमा स्थानीय किसानहरूको बढ्दो आकर्षणले जिल्लामा कृषिको व्यावसायिकीकरण र आय आर्जनका लागि नयाँ सम्भावना देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित