काठमाडौं ।
ब्राजिलको प्रसिद्ध पर्यटकीय सहर ग्रामाडोको एक बस्तीमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार, विमानले सुरुमा एउटा घरको चिम्नीमा ठोक्किएपछि अर्को दुईतले घर र मोबाइल फोनको पसलमाथि खसेको थियो। विमान खसेसँगै आगलागी भएको थियो।
दुर्घटनाको कारण अझै स्पष्ट नभएको र अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
स्थानीय मिडियाका अनुसार, दुर्घटनामा मृत्यु हुनेमध्ये चार जना एकै परिवारका थिए। ती परिवार रियोग्राण्डे डो सुल राज्यबाट साओ पाउलो राज्यतर्फ जाँदै थिए।
चिसो मौसम, लामो पैदल यात्रा र पारम्परिक वास्तुकलाका लागि प्रसिद्ध ग्रामाडो सहर जर्मन र इतालवी प्रवासीहरूले बसालेका थिए। क्रिसमस बिदाका समयमा यो सहर पर्यटकहरूको आकर्षणको केन्द्र बन्छ।
केही दिनअघि मात्रै, आइतबार ब्राजिलमै भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो।