अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको आरोपमा कञ्चनपुरमा थप एक पक्राउ
अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको आरोपमा कञ्चनपुरमा थप एक पक्राउ
    • बेल संचार

    • ८ पुष २०८१, सोमबार

धनगढी ।

कञ्चनपुर प्रहरीले अमेरिकी भिसाको प्रलोभन देखाई नक्कली बिहे गराएको आरोपमा थप एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ का ४२ वर्षीय वीरबहादुर ऐर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार, ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको हो।

वीरबहादुर ऐर पेशाले इन्जिनियर हुन्। तर, यो घटनामा उनले डडेल्धुराको भागेश्वर गाउँपालिका-४ निवासी ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोन वार्ता गरी बहुविवाह गराउन भूमिका खेलेको आरोप लागेको छ।

मालीले कञ्चनपुरकी ३१ वर्षीया युवतीलाई झुक्याउँदै २२ मंसिरमा विवाह गरेका थिए। आफू इन्जिनियर भएको र अमेरिकाको भिसा लागेको बताउँदै उनले युवतीलाई विश्वासमा पारेका थिए। तर, पछि उनी गाडीका सहचालक भएको तथ्य खुल्यो।

बिहे भइसकेपछि टिकटकमार्फत मालीको पहिले नै बिहे भइसकेको खुलासा भयो। यो जानकारीपछि जेठी श्रीमतीले उजुरी दिएपछि प्रहरीले मालीलाई बहुविवाहको आरोपमा पक्राउ गरेको थियो।

यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका-२ का जनकबहादुर धामीलाई पनि यसअघि नै पक्राउ गरिसकिएको छ।

धामी र ऐरलाई मतियारको रूपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित