ठिकै छ तर ……” “But Still, We rise ” ” नामक नाटक पुनः प्रदर्शन गरिने
ठिकै छ तर ……” “But Still, We rise ” ” नामक नाटक पुनः प्रदर्शन गरिने
    • शर्मिला विश्वकर्मा

    • ८ पुष २०८१, सोमबार

काठमाडौँ

काठमाडौँको टेकुमा रहेको कथाघेरा कौसी थिएटर हाम्रो समाजमा रहेका सबै प्रकारका व्यक्तिहरूले भोग्दै आएको भोगाइलाई, सामाजिक, संस्कृति, लगाएका सवाललाई नाटक मार्फत समाजमा सकारात्मक सन्देश दिने एक नाट्य संस्था हो । यस नाट्य संस्थाले नाटक प्रशिक्षण, नाटक लेखन, प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत समाजमा जनचेतना जगाउने कार्यलाई निरन्तरता दिँदै आएको छ । साथै विभिन्न प्रकारका महिलाहरूले सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार भोग्न परेका चुनौतीहरू समस्या तथा समाधानका उपायहरू जस्ता विषयमा आधारित नाटकहरू मञ्चन गरेर जनचेतना फैलाउने कार्यमा पनि अग्रसर रहेको छ ।

यसै क्रममा कथाघेरा कौसी थिएटरले ब्रिटिस काउन्सिलको सहकार्यमा कार्तिक २ गते अक्टोबर १८ तारिख देखि मंसिर ८ गते नोभेम्बर २३ तारिख सम्म १ महिने नाट्य कार्यशाला काठमाडौँमा सञ्चालन गर्यो । सो १ महिने नाट्य तालिममा नाटकमा रुचि भएका तथा नाटक गर्ने अवसर नपाएका ६ जना अपाङ्गता भएका महिला, यौनिक तथा अल्पसङ्ख्यक महिला र अन्य अपाङ्गता नभएका गरी १२ जना महिलाहरूलाई नाटकको तालिम प्रदान गर्नु भएको हो । कथाघेरा कौसी थिएटरका निर्देशक तथा प्रशिक्षक आकांक्षा कार्कीले अपाङ्गता भएका महिला तथा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूले यस्ता नाटकहरूमा अपाङ्गता तथा लैङ्गिकताका आधारमा नै समावेश हुने अवसर नपाएको गुनासो गर्नु भएको र उनीहरूले पनि अवसर पाएको खण्डमा मानव मैत्री वातावरण निर्माण गरेर प्रशिक्षक दिन सकिने र उनीहरूले पनि नाटकमा मुख्य पात्रका रूपमा अभिनय गर्न सक्छन् भन्ने कुराको प्रमाणित गर्न सकिने बताउनु भयो ।

साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरू तथा यौनिक तथा अल्पसङ्ख्यकहरू प्रति समाजमा भएको कमजोरी, केही गर्न सक्दैनन् भन्ने भ्रम हटाएर सकारात्मक सन्देश दिने उद्देश्यले यो तालिम दिएको बताउनु भयो । उहाँले अन्य महिलाहरूसँग अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूलाई समावेश गरेर १ महिना सम्मको तालिम सञ्चालन गरी नाटक निर्माण गरेर प्रदर्शन समेत गरेको बताउनु भयो । साथै उहाँले अहिले सम्म भएका अन्य नाटकहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक रोल मात्र दिने, कतै हास्य पात्रको रूपमा मात्रै समावेश गर्ने गरेको, उनीहरूलाई कमजोरी देखाउने रोलमा प्रयोग गर्ने, समान सहभागिता नगराउने पाइएकोले उनीहरू कमजोर होइनन्, अवसर पाएको खण्डमा र अपाङ्गता अनुकूलको वातावरण सृजना गरेर उनीहरूको आफूमा भएको क्षमतालाई प्रस्फुटन गराएर उनीहरूले नै समाज, घर परिवार तथा आफन्तजनहरूबाट भोग्दै आएका भोगाइहरूलाई समावेश गरेर नाटक तयार गरी प्रदर्शन गर्ने उद्देश्यले १२ जना महिलाहरूमा ६ जना अपाङ्गता भएका महिलाहरूलाई पनि यस १ महिने नाटक तालिममा समावेश गरिएको बताउनु भयो । यस एक महिने नाटक तालिमका प्रशिक्षक तथा निर्देशक सुदाम सिकेले एक महिने तालिम पश्चात् तयार पारिएको नाटक गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाले काठमाडौँको नक्साल स्थित नन्दीकेशर बगैँचा नारायण चौरमा आयोजना गरेको २ दिने WOW Festival मा प्रदर्शन गरिएको, नाटकमा अपाङ्गता भएका तथा अन्य महिलाहरूले समाज तथा घर परिवारबाट भोग्न परेका भोगाई, चुनौतीहरूलाई प्रस्ट देखाइएको भन्दै यस नाटकले समाज तथा सरोकारवाला निकायहरूलाई सकारात्मक सन्देश दिएको दर्शकहरूले प्रतिक्रिया दिएको बताउनु हुन्छ ।

कथाघेरा कौसी थिएटरद्वारा १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक पुनः यही पुस १२ गते शुक्रवार ५ बजे, पुस १३ गते शनिवार १ बजे र ५ बजे बत्तीस पुतलीको शिल्पी थिएटरमा ३ सो प्रदर्शन हुँदै छ । यस सो मा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थी र नाट्य कलाकारका लागि रु ३ सय र सर्वसाधारणका लागि रु ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको कथाघेरा कौसी थिएटरले जनाएको छ ।

यस तालिममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला सरिता थुलुङ्ले कथाघेराले एक महिने नाटक तालिम दिने क्रममा अन्य महिलाहरूको साथमा अपाङ्गता भएका महिलाहरूलाई पनि समावेश गरेर नाटक सिक्ने अवसर दिएकोमा कथा घेरा परिवारलाई धन्यवाद दिँदै यहाँ सिकेको सीपको उपयोगको लागि अवसरको खोजी गर्ने बताउनु भयो । त्यसै गरी यस नाटकमा सहभागी दृष्टिविहीन अपाङ्गता भएकी प्रशिक्षार्थी शिल्पा ढुङ्गेलले यस नाटकको एक महिने तालिमले आफूमा आत्मबल बढेको, उहाँहरूले अपाङ्गताको प्रकृति अनुसारको वातावरण सृजना गरेर तालिम प्रदान गर्नु भएको बताउनु भयो । साथै उहाँले नाटक पश्चात् सहभागीहरूको भोगाइका आधारमा नाटक तयार गरेर प्रदर्शन पनि गरे पछि आफूमा भएको क्षमता, प्रतिभा, सृजनालाई कुनै अवरोधले पनि बाधा नपुर्याकउने रहेछ भन्ने कुराको प्रमाणित भएको महसुस गरेको भन्दै नाटक प्रदर्शन पछि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आएको बताउनु भयो ।

त्यसै गरी स्टेज म्यानेजर विनीता गुरुङले अपाङ्गता भएका व्यक्तिहरूमा पनि क्षमता, योग्यता हुने र उनीहरूको क्षमता, योग्यता तथा प्रतिभा प्रस्फुटनको लागि अपाङ्गता अनुकूलको वातावरण सृजना गरेर नाटकमा अभिनय गर्नका लागि पनि अवसर दिन सकेमा उत्कृष्ट प्रस्तुति प्रदर्शन गर्न सक्ने बताउनु भयो । साथै उहाँले यस एक महिने नाटक तालिममा अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक र अन्य महिलाहरू सबैले एकै पटकमा सहज वातावरणमा यो नाटक तालिम लिएको र ती प्रशिक्षार्थीहरूबाट पनि धेरै नयाँ नयाँ कुराहरू सिक्न, उनीहरूले अपाङ्गताकै कारण, यौनिक तथा अल्पसङ्ख्यक भएकै कारण भोगेका भोगाइबाट ठिकै छ तर …….. “But Still, We rise ” ” नामक नाटक निर्माण गरी प्रदर्शन पनि गरिएको बताउनु भयो । एक महिने नाटक तालिमकै क्रममा कथा घेराकी प्रोडक्सन म्यानेजर निष्ठा त्रिपाठीले कुनै पनि व्यक्तिको योग्यता, क्षमता, सीप, रुचि, चाहनालाई अपाङ्गता वा लैङ्गिकताले नरोक्ने भन्दै उनीहरूलाई यस्ता नाटकहरूमा अभिनय गर्नको लागि सीप सिकाएर अभिनय प्रस्तुत गर्ने अवसरको प्रदान गर्न सकेमा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो । नाटककी प्रशिक्षार्थी तथा सहभागी, अपाङ्गता नभएकी आदिवासी महिला भूमिका थारुले हाम्रो समाजमा अधिकांश क्षेत्रमा समावेशिता नपाएको, आदिवासी, दलित, अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्गका व्यक्तिहरूका सवालहरू ओझेलमा पार्ने गरेको अवस्थामा यस कथाघेरा परिवारले एक महिने नाटक तालिममा यी सबै समुदायलाई सहभागी गराएर नाटकमा अभिनय गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले यस नाटक तालिममा सहभागी हुँदा अपाङ्गता भएका महिलाहरूसँग काम गर्ने अवसर पाएको जसले गर्दा अपाङ्गतालाई बुझ्न पाएको भन्दै अपाङ्गतालाई पनि हामीले स्वीकार गर्दै अपाङ्गता अनुकूलको वातावरण सृजना गरी अवसर प्रदान गर्न सकेमा उनीहरूको योग्यता तथा क्षमतालाई उपयोग गर्न सकिने महसुस भएकोले यो तालिम अति नै महत्त्वपूर्ण रहेको बताउनु भयो ।

यो १ महिने नाटक तालिममा कथाघेरा कौसी थिएटरका निर्देशक आकाक्षां कार्की, सुदाम सिके र युरोपको लिथवईनिया देशबाट आउनु भएकी प्रशिक्षक Laura Kutkaite लौरा कुटकाइट ले पनि नाटकका विषयमा प्रशिक्षण दिनु भएको थियो भने यस नाटकमा अपाङ्गता भएका, दलित, जनजाति, तराईका, ब्रामण लगायतका सबै वर्ग र समुदायका महिलाहरूलाई समावेश गरिएको थियो । यस तालिममा सहभागी हुनु भएकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले १ महिने नाटक कार्यशाला पश्चात् नाटकका विषयमा, अभिनयका विषयमा धेरै कुराहरू सिकेको, नाटकका संवाद लेख्न, बोल्न, अभिनय गर्न सिकेको, आफूमा आत्मबल बढेको यति मात्रै नभएर कथाका शब्दहरू रचना गर्न, त्यसलाई अभिनय मार्फत वास्तविक जीवनका भोगाइहरूमा रूपान्तरण गर्न पनि सिकेको बताउनु भयो ।

खुल्ला आवेदनमा ५० जनाको निवेदन आएकोमा ६ जना अपाङ्गता भएका महिलाहरू शर्मिला विश्वकर्मा, सरिता थुलुङ्ग, सुन्दरी मिश्र, शिल्पा ढुङ्गेल, निर्मला भण्डारी, पूजा अधिकारी र अन्य अपाङ्गता नभएका ६ जना महिलाहरू निहारिका काफ्ले, पूजा कुमारी वैश्य, अलिशा वादी श्रेष्ठ, नुशा लिङ्देन, भूमिका थारु र ऋच्मा गुरुङ गरी १२ जनालाई छनौट गरिएको थियो ।

कथाघेरा कौसी थिएरटरले १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक तयार पारेको छ । सो नाटकको नाटकको निर्देशक आकांक्षा कार्की र सुदाम सिके, मिल्सन राई, स्टेज म्यानेजर विनीता गुरुङ, प्रोडक्सन म्यानेजर निष्ठा त्रिपाठी सङ्गीत प्रवृत्ति राई र अर्पण महर्जन, ड्रेस युव पाख्रिन, मेकअप रोशनी स्याइवो / तामाङ , केश विन्यास, सञ्जु थापा, फोटो किरणसेत्या राई / विशेष धन्यवादका पात्रहरुः सुरज मल्ल, लुनिभा तुलाधर, सेविता अधिकारी, Laura Kutkaite लौरा कुटकाइट हुनु हुन्छ ।

साताकाे चर्चित
सम्बन्धित